ती सुस्केराहरु बीच -राजेन्द्र महर्जन




ती सुस्केराहरु
अनि,
ती आँशुका झरनाहरु बीच हाँसेर,
म तिम्रो आत्मीयतालाई खिल्ली उडाउन चाहन्न,
मधुर मुस्कान उड्ने तिम्रा ओंठहरुबाट
सुस्केराका लर्काहरु उडेको पटक्कै सुहाउँदैन,
गाजलको सुन्दर घेराभित्र,
टल्किने तिम्रा आँखाहरुमा पनि
आँसुका छेस्काहरु बगेको
कहाँ पो सुहाएको छ र ?

हाम्रो आत्मीयता आँशु र सुस्केरामा होइन
प्रत्येक पल मुस्कुराउने ओंठ
अनि निर्दोष आँखामा पो जीवित हुन्छ ।

त्यसैले प्रिय,
मेरो सामु
सुस्केरा होइन सुन्दर मुस्कान छरिदिए हुन्थ्यो
आँसु होइन आत्मीय नजरले हेरिदिए हुन्थ्यो,
आत्मीय नजरमा अझै सुन्दर बगैंचा देख्छु म,
मधुर मुस्कानमा शान्त संसार देख्छु म,
तिमीले साथ दिए संसार पाउँछु म,
दुःखमा पनि सुख पाउँछु म
ठेसै लागे पनि ढल्न लाग्दा
टेवा दिए पुग्छ मलाई,
निराश मेरो मनमा अरु निराशा नथपिदिए पुग्छ ।


-राजेन्द्र महर्जन