कस्ती होलीन् मेरी आमा ? -भानुभक्त भट्ट



आमावस्याको चकमन्न रातमा खोज्दै हिड्छु मेरी आमालाई
तर कतै भेट्दिन म
आकाश तिर हेर्छु
लाखौंलाख ताराहरु टिलपिल टिलपिल चम्किरहेका देख्छु
तिनै आकाशका लाखौं ताराहरु मध्ये
एउटा तरा चम्किदैं हिड्छ
लाग्छ तिनी नै मेरी आमा हुन्
अनि त्यो चम्किलो ज्योतीले मलाई भन्छ

छोरा यो जन्मभूमीका निम्ति केही गर
यो माटोको निम्ति केही गर
यो प्राणभूमीलाई माया गर

ममताकी खानी भन्छन्
आमा ज्ञानकी पनी धनी होला
तर मेरो लागि त कल्पना मात्रै
किनकि मैले त आमाको माया
चालिस दिन मात्रै पाएँ
अनि आमा भईछिन् स्वर्गवास

आमा तिमी कहाँ छौ
आमा तिमी कस्ती छ्यौ
तराईका खुल्ला फाँटहरुमा
अनि पहाडका गराहरुमा
बोलाउँछु मेरी आमालाई
कता हो कता
एउटा मधुर बोली सुन्छु
अनि झस्किन्छु-छोरा, तिमीले केही गर्नु छ

मर्नुभन्दा पहिले धेरै गर्नु छ
गरीब, असहाय र अनाथको निम्ति केही गर्नु छ
हरियो घना जंगल भरी
मेरी आमालाई खोज्दै हिड्छु
तर
कहीँ भेट्दिन

अगाडि हिड्दै जाँदा थकाई लाग्छ
एउटा शीतल छहारी मुनी बस्छु
चराचुरुङ्गीहरुको चिरविर चिरविर आवाज सुन्छु
लाग्छ मेरी आमा यही कतै छिन्
तर
कहिँ देख्दिन
अनि मलाई
त्यही शीतल छहारीमुनी सुत्न मन लाग्छ
फेरि एउटा
मधुर बोली सुन्छु
छोरा, गन्तव्यलाई नविर्स सितल छहारी भेटिंदैमा
अगाडि बढ कर्तव्य पथमा
जन्मभूमिको रक्षा गर
दीन दु:खीहरुलाई सक्दो सहयोग गर
यो धर्तीलाई माया गर

आमा.........
बोलाउँछु
तर
कोही बोल्दैन
झल्याँस्स ब्युझिन्छु त आफुलाई पाउँछु आफ्नै कोठाभित्र
आहा
कति सुन्दर सपना !
आखिर कस्ती होलीन् ?
मेरी आमा ।


-भानुभक्त भट्ट
महेन्द्र नगर
हाल नि.उ.मा.वि. धादिङ बेंशी