मानवीय परिकल्पनाहरू (भगवती बस्नेत)

मानवीय परिकल्पनाहरू

कविता)

सन्ध्या कालमा
मधुर किरण झै
आशको झिनो किरण बोकेर
अनगिन्ती समस्याहरुसँग
पौठाजोरी खेल्दै
गगन चुम्ने आशमुखी
लहरमा लहरिने
यो कस्तो सभ्यता-

असहज परिस्थिति
र अन्जान परिबेशमा
आफुलाई अनुकुल बनाउदै
आफ्नो इच्छा अनि
चाहनाको प्रबाह नगरि
संघर्षरत हुनुपर्ने
यो कस्तो बाध्यता?


जीवन अस्थाइ हुँदाहुँदै पनि
अजम्बरी सम्झदै
आज दु:ख सहँदै
भोलिको सुखको कल्पनामा
स्वच्छ कन्चन आँखामा
सजाउदै हिँडिरहनु पर्ने
यो कस्तो बिडम्बना-

सुखको खोजिमा भौतारिदै
आफ्नो अमूल्य समयलाई
अरुकै लागि खर्चेर
अरुकै खुशीमा दुःख लुकाएर
आफन्तको मायाबाट
बिछोडिएर बाँच्नु पर्ने
यो कस्तो विवशता?

भगवती बस्नेत