स्वाभिमान



आँधी बोकेर असमन्जस्यतामा अल्झिरहेको छ उसको मन् । शायद जीवनमै पहिलोपटक होला यसरी ऊ कुनै कुरालाई लिएर टोलाउन पुगेकी नत्र त सबैले उसलाई सानैदेखि भन्ने गर्थे "यो हक्की छे ,तुरुन्तै तर ठीक निर्णय लिना सक्छे" । कैयन कुराको बाढी मनमा उछाल्दाउछल्दै झल्यास्स अविन(उसको लोग्ने) सँगको सम्बादमा आएर यसरी झस्की मानौं बिद्युतिय झट्का लागेको होस्। कती सजिलै अविन लाई सान्त्वना दिई उसले,कती सजिलै ढाडस र आश्वासन दिई उसले कि सबै जोरजाम समयमै हुन्छ भनेर। गाह्रोस पनि के ,,लोग्ने स्वास्ने भनेकै साथ र सहाराको लागि हो, समस्याको समाधान लोग्नेकै मात्र जिम्मेवारि होइन भन्ने मान्यता राख्ने उसले अहिले यो प्रमाणित् नै गर्ने समय आएको थियो ,बस् ऊ यही गर्दैथी।

दुई महिना अघी एउटा नाम चलेको म्यानपावर कम्पनिमा वर्क प्रमिट मा बिदेश जानको लागि प्रकृया थालएकी थी। आर्थिक आभाव, बेरोजगारी र पारिवारिक बोझ हल्का गर्न,कम्सेकम केही सजिलो पार्नका लागि धेरै प्रयासका बाबजुद लामो बहस ,रातै पिच्छेका छलफल पछि अविनलाई राजी बनाएर उसको अनुमती प्राप्त गरेकिथी । पूर्ण उल्लास नभये पनि जटिल अवस्था र परिबन्धको कारण अविनले सहमती जनाएको थियो तथापी उसको मनमा पनि अर्को त्रासको आँधी चलिरहेकै त्यो आँधी थियो'आर्थिक जोहो' । भिषा लागेपछी म्यानपावरमा ठुलो रकम बुझाउनुपर्नेथियो ,त्यती ठुलो रकम उसले दिन दिन खस्किँदै गएको आर्थिक हैसियतको कारण धेरै साल यता देख्न त के कल्पना पनि गरेको थिएन । हात पाउ एक गरेर सुरु गरेको बङ्गुर पालन पांच बर्ष अघी एकाएक स्वहा भएदेखी अविनले चौपट जिन्दगी गुजारिरहेको थियो। घरको खम्बा को हैसियत जोगाउनका लागि प्रसन्न मुद्रामा 'सबै ठीक हुन्छ' भनिरहे पनि अन्तष्करणको उस्को डर अचानक प्रकट भएको थियो "सबु! भिषा लाग्ने दिन त आउन लाग्यो,अजै पैसाको जोरजाम भएको छैन । कतै भिषै क्यान्सिल गर्नुपर्ने हो कि!"
अविनको संकास्पद डरको वाक्यले ऊ एकाएक बरफ भएकी थी। यो डर ऊ आँफैमा पनि हुँदाहुँदै पनि कतै न कतै अविन प्रती ढुक्क थी। 'उसको बहिनिले देलिन ,नभये काका ससुराले अस्ती मात्र जग्गा बिक्री गरेका हुन् ,उनले पनि देलान् । अनी आफ्ना टुक्राटुक्री सुन बेचेर थप्दा त पुगिहाल्छ नि ' भनेर ढुक्क भएको उसको मन् अविनको डरभरी वाक्य सुनेपछी एक्कासी भुमरी खेलेको थियो। अजै 'भिषै पो क्यान्सिल' भन्ने पदांश त तिखो सुइरो जसरी उसको आशातित मुटुमा पसेको थियो। कती मुस्किल ले अविन लाई मनाएकी थि। आखिर उसको पनि त यो रहर नभएर बाध्यता नैत थियो।
अविन एउटाको क्यासेट पसलको कमाइले डेरा भाडा ,बच्चाको पढाई ,घर खर्च कता कता चलाउनु ! कसैलाई केही तलबितल भैहाल्यो भने भनेको बेलामा सिटामोल किन्न पनि आपत पर्न सक्छ , जसोतसो टरेको त छ तर समस्या ढोल बजाउंदै पनि त आउंदैन । परिहालेको खण्डमा के होला!!खर्छ त दिन दिन बढ्दो छ। उसमा गरगहना र कपडाको सम्भ्रान्ती रहर त थिएन नै ,आधारभूत दैनिक जीवन चलाऊनकै लागि पनि आफु बिदेश गएर केही बर्ष कमाउने, यता अविन पनि बेकामे त छैन । दुबैको कमाइले अहिले आफुहरु बिछोडियर बाच्नुपरे पनि भविष्यमा बच्चाहरुले यस्तो दिन भोग्नु नपरोस भन्दै उठाएको यो कदम प्रती ऊ एकदमै उत्साहित थी। म्यानपावरले पनि "तपाईंको भिषा चाँडै लाग्ने सम्भावना छ" भनिदिँदा उसको आशाको दीप अझै अग्लिएर चम्किएको थियो। सोच्दै थी' अब त भिषा लाग्ने दिन आउन लाग्यो। सपिङ्ग गर्नुपर्योक। सुट्केश पनो अली ठुलै किन्नु पर्योत।'यही बेला अचानक अविन को त्रषित वाक्यले खल्बलिँए पनि सम्हालिंदै भनेकी थी "तिमी चिन्ता नगर अविन! म साथीहरु लाई पनि भनसुन गर्छु । काम जसरी नि हुन्छ । तिमी ढुक्क होउ !" अविन ले विश्वाश गर्यो् कि गरेन तर श्रीमती को यो ढाडस र आश्वासनले उसको मुहारको हराएको कान्ती थोरै फर्किएको थियो । जब अविन केही काम ले बाहिरियो ,अनी उसको मन् म फेरी सुनामी भड्किन थालयो । अविन लाई ढुक्क बनाएपनी ऊ आँफै ढुक्क हुनसकेकी थिईन । सोच्न थाली ,को सँग भनु!! उसका एकाध साथीहरुले केही परेमा शेयर गरौँन भन्थे तर भरसक पुर्याइ पुर्याइ आफ्नै स्वाभिमान मा बाँच्दै आएकी अनी अविन सँगको जीवन सुरुवात पछी दुबै को साथ सहारामा जेनतेन कसैसँग हात नथापी जीवनको गाडी घचेटिरहेकी उसले अर्थात सबुले हत्तपत्त आँटै गर्न सकिन कसैसँग सहयोग माग्न लाई। 'कसले देला र! सबैको आ आफ्ना समस्या छ' । यो भन्दा पहिले न उसले कहिल्यै आफ्नो गरीबी कसैको सामु प्रकट गरेको थी। परिश्रम र स्वाभिमान को मजेत्रो ले अभावलाई नग्न हुनबाट जोगाउंदै आएकी सबुलाई निकै कष्टको कुरो थियो कसै सँग हात फैलाउन । त्यो पनि सानो रकम को कुरो थिएन ।
सोच्दा सोच्दै उसको दिमागमा सम्भावनाको बिजुली चम्क्यो एउटा आशालाग्दो नाम सँगै।
हो चिन्ताले कस्सिएका ओठहरु एकाएक मुस्कानको धर्को सँगै खुकुलिएको थियो 'अर्पण' उसको सहपाठीको नाम को सम्झना सँगै।
अर्पण त्यो मान्छे थियो जसलाई सबु दसौँ बर्षदेखि जान्दथी । हाईस्कुल सकेपछी १०+२ को सुरुवात सँगै टुसाएको उनिहरुको मित्रता समयसङ्गै राम्ररी मौलाएको थियो । हँसिलो,मिलनसार, र फरासिलो अनि खासगरी प्रसंग बाहिर गएर कहिल्यै कुनै बाङ्गोटेडो ठटा नगर्ने अर्पणको बानिले नै होला सबुको एक असल र नजिकको साथीमा अर्पण अग्रपंक्तिमा उभिएको थियो। ति अतितदेखि आजसम्मको अर्पण संगको फरासिलो स्वस्थ स्वच्छ मित्रता र आर्थिकरुपमा पनि अर्पणको मज्बुत अवस्थाले सबुलाई सोच्न लगायो कि यदी उसले अर्पणको सामु सहयोगको हात बढाइ भने खाली हात फर्किनेछैन। अविनको चिन्ता पनि टर्ने । 'आखिर केही महिनाको कुरा न हो,उता(बिदेश) गएपछी त फटाफट तिरिहाल्छु नी !" यस्तै सोच्दै उसका हात फोनको रिसिभर तिर लम्कियो-फेरी रोकियो।
अर्पण त्यही केटा थियो जसले चिनाजानिको केही समय पश्चात घुमाउरो पाराले प्रेमप्रस्ताब राखेको थियो। जीवनभरी माया गर्छु भन्ने आशय ब्यक्त गरेको थियो। तर सबुले सरासर बौद्दिक र सभ्य ढंगले नकारेकी थी। उसले भनेकी थी "प्रेम गरिन्न अर्पण! प्रेम त हुनुपर्छ तर यहाँ प्रेम भएकै छैन र म गर्ने पक्षमा छैन। चाहना नभएको,कामना नगरिएको र सपना नदेखिएको सम्बन्ध प्रेम होइन अर्पण! मलाई माफ गर !हामी साथी भन्दा अरु केही होइनौं। " उसको तार्किक र प्रभावकारी जवाफ प्रती नतमस्तक हुंदै अर्पणले माफि मागेको थियो र भनेको थियो "सबु! हामी एक असल मित्र त हुन सक्छौँ नि जीवन रहेसम्म!" अन्तत: उनिहरु मित्र नै रहे ,सबुले भने जस्तै त्यहा कहिल्यै प्रेम हुँदापनी भएन । समय सङ्गै सबुले घर बसाइ ,उता अर्पणले पनि लगनगाँठो कस्यो। अब त दुबैका बच्चा समेत भैसकेका थिए, दुबै जिम्मेवार अभिभावक भैसकेका थिए। बर्षौँ पहिलेका ति अपरिपक्व प्रेमप्रसंग सबुले अतितको कुनै पुरानो ढड्डामा संधैको लागि थन्क्याईसकेकी थी। त्यही बेला देखी अब उनिहरु दुबै एक असल साथी भन्दा अरुकेही थिएनन् ।यसर्थमा पनि उसको याचना गलत साबित हुनेछैन भन्ने सोच्दै फोन तानेर डायल गरी । यसै पनि बेलाबेलाको पारिवारिक जमघट,आवातजावतको भेट्घाटमा अर्पण भन्ने गर्थ्यो "सबु!! नबिर्स हामी असल साथी हौँ ,सुखदुख बाँड्न सक्छौँ!"
बाल्यकाल देखी अभावसँग खेल्दै आएकी उसले जीवन जिउने क्रममा विवाहको प्रथम बर्ष अविनको बिजिनेश राम्रो हुँदा सिमित समयका लागि पाएको आर्थिक सन्तुष्टी बाहेक आज सम्म उसको जीवनमा साथीभाइ सँग खास गरी अर्पण सँग सुख साट्ने दिन त कहिले आएन नै ,बरु बिडम्बनाले अहिले दु:ख साट्ने दिन भने ल्याइदिएको थियो।
"हेलो!अर्पण !म सबु!!'
"ओह! सबु! कसरी सम्झियौ आज? सब ठीकठाक त छ नि?"

सुखदुख साट्ने भनिएपनी साटिन चाइँ दुखैमात्र साटिन्छ क्यारे र त हठात् संपर्कको जिज्ञासा यही हुन्छ कतै बेठिक पो भयो कि!! केही आपत आईलाग्यो कि।
सम्हालिएर उसले सर्सर्ती आफ्नो फोनको प्रयोजन् बताई। एक्पटक पनि सवाल र आनाकानी नगरिकन अर्पणले भन्यो"चिन्ता नगर सबु! साथी ले त साथीलाई मद्घत गर्ने हो नि । तर बिदेशकै यात्रा चै तय नगरेकै भएहुने,ठिकै छ सोचेरै त पाइला चालेकी हौली। जे होस् म गर्ब गर्छु हाम्रो मित्रताप्रती । तिम्रो म प्रती को विश्वाश ले मलाई धन्यबनायो।!"

अर्पणको यो वाक्य महानताको थियो या अपमानको झटारो तर असल र पुरानो साथी हो भन्दै उसले मनमा उठेका दुबिधालाई जबर्जस्ती थन्क्याइ र सन्तोषको लामो श्वास फेरी।
साँझ अविनको घरागमन सँगै अङ्गालोमा बेरेर आत्मियताभरी चुम्बन दिँदै कानैमा फुस्फुसाई "अविन! समस्याको समाधान भयो"
अविनको शंकित र आश्चर्यभरी हेराइको जवाफमा उसले सबै कुरा बेलिबिस्तार लगाई। बदलामा अविनले लामो श्वास छोड्यो र भन्यो "ठिकै छ नि ,धेरै राम्रो भयो "। आखिर अविनले सबु सँगको बिहे पश्चात देखि नै अर्पणलाई जान्दथ्यो। अर्पणको परिवार आफन्त भन्दा कम थिएन उनिहरुका लागि। पत्निको साथी भन्दा पनि स ह्रदयी आफन्त को रुपमा लिएको थ्यो अविनले अर्पणलाई । यही अनुभव र सोचले मन पोतिएपछीअविनले सबुलाई अङ्गालो मा अझै कस्दै नाक को टुप्पोमै म्वाइ खाँदै भनेको थियो "अर्पण सँग सहयोग मागेर राम्रै काम गर्यौ सबु!!ऊ राम्रो मान्छे हो।"*******
'ओहो!भोली त अर्पणले पैसा लिना बोलाएको दिन पो ,, आउनुभन्दा पहिले एक कल फोन गर भनेको थियो ,आजै फोन गर्नुपर्योो अनी भोली लिन जाउंला। पैसा त तयारी नै त होलानी। 'सम्झिदै ऊ फोन तिर लम्की। कि होइन भोली!! फेरी पटापट औंला भाँची "होइन भोली नै त बोलाएको हो"।
"हेल्लो!"
"सबु! तिमी? म तिम्रै फोन को पर्खाइमा थिएँ "

'सोची उसले कती इमान्दार छ अर्पण! असल साथी त असल नै हो। एस्तो असल र मिलनसार साथी शायदै अरु होलान् ।'
यती सोच्न भ्याइहाली फोनको रिसिभर दाँया कान बाट बाँया कानमा सारुन्जेल
"थ्यान्क्यु अर्पण! म भोली कतिबेला आउं पैसा लिन??""

यो पाली अर्पण अलिक अक्मकायो ।
"??साँच्ची कती पैसा चाहिने भनेको तिमीलाई सबु"

ऊ झस्की । 'ला!! पैसा त तयार छैन क्यारे,कती भनेको भन्ने त बिर्सेंछ के पैसा तयार गर्यो?होला त!

" अँ ,,३ लाख भनेको त हो नि "
(यतिभन्दा अली लाचार महसुस गरी )
"अनी म्यानपावर मा त ५ लाख दिनुपर्ने होइनर??
""हो। तर बाकी को पैसा अलिअली अविनले खोज्दैछ ,अनी बाँकी मेरो भएका गहना बेचिदिन्छु । अब यसैपनी म उता जाँदैछु ,गहनापो अहिलेलाई किन चाहियो र !" आफ्नो नित्तान्त निजी मामला कसैको सामु पहिलोपटक यसरी नङ्ग्याउनुपर्दा ग्लानी र अपमानबोधले ओठ चाटी ।

"हेर सबु, बिनासित्तिमा अविनलाई किन दु:ख दिन्छ्यौ!! फेरी सबै पैसाको जोरजाम पनि त गर्दैछैन उसले। अनी तिम्रा अलिअली भएका गहना पो किन बेच्नु? बेच्नै छ भने पनि यो भन्दा चरम् अवस्थामा बेच्नु तर त्यो दिन आउँदैन पनि!"
एकै सासमा अभिभाबकिय हिसाबले अर्पणको मुखबाट यि वाक्य बर्सिरहँदा सबुको कानमा भने 'सबै पैसाको जोरजाम गर्दैछैन उसले' भन्ने आवाजमात्र घनले हाने जसरी ठोक्किरह्यो । अर्पणले सदासयता देखाये पनि सहयोगको नाममा अविनको अपमान गरेको जस्तो लाग्यो। सबु सबै खालका चोट सहन्थी तर उसको प्राण भन्दा प्यारो अविनको अपमान सहन्नथी। अविनको वाध्यत्मक असमर्थता हो या अनिच्छा त्यो त उसले भन्दा बढी कसले जान्दथ्योर ।
तर बाध्यता भन्दा स्वाभिमान कमजोर नै भयो यहाँनिर । अमिलो मन र लाचार आवाजमा भनी "त्यो त हो तर अरु बिकल्प पनि त छैन । अविन र मैले यही निर्णय गरिसकेका छौं" त्यसो हो भने निर्णय बदल!!""
(यो पाली अर्पणको आवाजमा सल्लाह भन्दा आदेश ज्यादा थियो। )
सोच्न नभ्याउँदै उही बोल्यो "सुन्दैछ्यौ सबु!"

"अँ ,,सुन्दैछु ।"
"सुन, म तिमीलाई पाँचै लाख दिन्छु । अरुतिर टेन्सन नलेउ। आखिर साथी भनेकै यस्तै बेलामा काम लाग्ने हो। तर यसको बदलामा तिमीले मेरो सानो काम गरिदिनुपर्छ। सुन्दैछ्यौ??"
""के काम हो त्यस्तो अर्पण! फेरी म त छिट्टै जाँदैछु । समय मिल्ने हो कि होइन तिम्रो काम को लागि ??"
उत्साहित हुँदै अर्पण बोल्यो "सानो काम हो। समय नै लाग्दैन धेरै। आखिर तिमीलाई पैसाको अत्यन्त आवश्यकता छ अहिले। फेरी अब समय पनि छैन तिमी सँग अरुतिर खोज्नलाई पनि । काम त चलाऊनै पर्योे नि"।
"?? संकित आवजमा उसले भनी "होइन काम चै के हो त
"तिमीलाई पाँच लाख पुरै दिन्छु। सकेको बेलामा फर्काउ हतार गर्नुपर्दैन। तिमी जस्तो असल र नजिकको साथी सँग ब्याजको कुरा पनि आएन। तिमीलाई जतिबेला मिल्छ त्यतिबेला आएर पैसा लैजाउ। तयारी अवस्थामा छ। तर त्यो भन्दा पहिले कृपा गरेर मेरो बर्षौँ पुरानो अत्रिप्त प्यास मेटाइदेउ, बस् एक रात म सँग बिताइदेउ"

सबुले महसुस गरी उसको कलेजो हजार ठाउंमा चर्किँदैछ,पुरै आकाश एकैपटक टुक्रिएर उसैका टाउकामा बज्रिँदै छ। जिन्दगीमा अभावको कैयन खुड्किलाहरु आधा पेटमा पार गरेकी थी। कैयन रहरहरुलाई सधैंको लागि मन् भित्रै ताल्चा मारेर थुनेकी थी तर गरीब बनेकी थिईन,हार खाएकी थिइन। तर आज मित्रताको सदाशयता को नाममा बर्षौँ देखी सबसे असल र इमान्दार मानिआएको साथी (जसको नाम लिँदा पनि गर्ब गर्ने गर्दथी) ले आज उसलाई वास्तविक गरिवीको पहिचान गराइदियो, महसुस गराइदियो। अहिले थाहा भयो उसलाई गरिबी के हो ,नग्न अभाव सङ्घार नाघेर बाहिरिएपछी कसरी हेपिनुपर्दोरहेछ,,
उसका आँखा बाट पीडाका थोपा खसे। अपमानबोधका रेशा अनुहारै भरी दौडिए।****
साहस बटुलेर दरा औँलाको टुप्पोले आशुको ढिक्का पन्छाई र अन्तिम वाक्य भनी "धन्यबाद अर्पण! म भिषा क्यान्सिल गरेर सब्जी पसल खोल्छु।"

फोन राख्दा उसको पुरै शरीरमा स्वाभिमानको ज्वाला दन्किरहेको थियो।

('मेरो नेपाल' द्वैमासिक साहित्यिक पत्रीकाको पछील्लो अंकमा प्रकाशित् यो लेख यहाँ टांस्ने जमर्को गरेको छु यो प्रिय पत्रीकाको पहुँच भन्दा बाहिरको मित्रहरुको निमित्त। यसको साथै स- सानो ब्यस्तताको अंकुसेमा अल्झिएर केहीदिनका लागि फेसबुकबाट टाढा हुन गैरहेको हुँदा सम्पूर्ण मित्रहरुलाई साहित्यिक जमघटमा रहिरहन आग्रहगर्दै छिट्टै उपस्थित हुने बाचा। बिदा।।)