आमा हजुर कहिले ?



छोराछोरीलाई स्कूलबाट लिएर प्रविण घर फर्कदा सरु पिढीमा बसीरहेकी थिइन् । कसैलाई थाहै नदिई सरु आएर पिढीमा बसेको देखेर सबै अचम्म मानेर हेरिरहे । छोरी नम्रता दगुर्दै आएर आमाको काखमा बस्दै छातीमा टाउको राखेर घुक्कघुक्क रुन थालिन् । सरुले छोरा नविनको हात समातेर आफ्नो काखमा राखिन र टाउको मुसार्दै बाबु आज त तिम्रो जन्मदिन हो नि, त्यसैले तिमीलाई आशिर्वाद दिन आएकी भनिन । सरुका लोग्ने प्रविण पनि अचम्म मानेर हेरिरहेका थिए । उनीहरुको आँखा जुध्यो । मनभरि भएर केहि बोल्न नसकि प्रविण घरभित्र पसे । यो वातावरणले सरुलाई साह्रै दुखी बनायो । जन्मदिनको खुशीयाली कसैको अनुहारमा देखीनन् । आमा ! यसले जहिले पनि मलाई “हाम्रो आमा मात्र किन विदेश जानुभएको” भन्दै सोधेर हैरान पार्छे भन्दै नम्रतालाई देखाए नविनले । भन्नुन आमा हजुरमात्र हामीलाई छाडेर किन जानुभएको? अब कहिल्यै नजानु है? फेरि पनि छाडेर जानुभयो भने हामी कहिल्यै पनि बोल्दैनौ है त दादा? नम्रताले दाइतिर हेर्दै भनिन । नविनले सहमती जनाउदै टाउको हल्लाए ।

देशको असहज परिस्थिती, जेलिदै गएको समस्या र चुलिदै गएको साहुको ऋणले नचाहेर पनि तिमीहरुलाई छाड्नु प¥यो भन्नेकुरा उनले कसरी ति अबोध छोराछोरीलाई भन्न सक्थिन र? सरुले उनिहरुलाई न म अब कहिल्यै तिमीहरुलाई छाडेर जान्न भन्न सकिन न विदेश जानुपर्नाको कारणहरु नै खुलस्त पार्न सकिन ।

केही नबोली छोराको जन्मदिनको तयारी गर्दै थिइन । कसैको बुढो खोकीले उनलाई झस्कायो । आँखा खोल्दा उनको साथमा प्यारा छोराछोरी थिएनन न त उनी जन्मदिनको तयारी नै गर्दै थिइन । उनी त परदेशमा काम गर्दागर्दै थाकेर एकछिन सोफामा बस्दा निदाएकी थिइन । बढ्दै गएको चिसोको कारण उनको इम्प्लोयरलाई खोकीले च्याप्दै लगेको छ । जसको कारण रातभर पनि निदाउन पाएकी छैनन् ।

साच्चै नै आज सरुका छोरा नविनको जन्मदिन हो । लगातार चौथो पटकसम्म उनले छोराछोरीकोे जन्मदिन संगै बसेर मनाउन र सामुन्ने बसेर आशिर्वाद दिन पाएकी छैनन् । उनीहरुको भित्री मनले सोधेको प्रश्नको जवाफ सपनामा पनि दिन सकिनन सरुले । उनको मनभित्रको पिडा आज फेरि बल्झीयो, मातृहृदय रोयो र आँखाबाट आँसु बगीरह्यो । मोवाइलमा खिचेर ल्याएको फोटो हेरिन् । ति फोटोहरुले प्रश्न गरिरहेका थिए

“आमा हजुर कहिले ????? ।”


सिता बराल
जेरुसेलम, इजरायल