सिमास्तम्भ

image-from the memory of holocaust

मध्यपूर्वको यो समृद्ध इजरायल
उत्तरको सुंदर पहाडी वस्ति हाइफा
जहाँ भू-मध्यसागरको किनार नजिक उभिएर
म लेबनान माथिको बादल नियाल्छु
जो भर्खर चांदी र सुनौलो हुदै
सिंदूरी रंगमा परिवर्तन भै रहेछ ।

बादलको रंग बद्लिनु
यो शुभ संकेत हो,
स साना बंदरगाह साथै जहाजका तांती लिएर
शान्तिको निलो रंगमा तरंगित यी छालहरू
समयका बगारहरूमा स्पर्श गर्दै -यही भन्छन ।

ध्वस्त भएका खंडहर संरचना जस्तै
हजारौं क्षेप्यास्त्रका प्रहारले भत्किएको मन बोकेर
लेबनान मौन छ,
जसरी यसको छातीमा खातका खात घातहरु
लुकाएर सगर मौन बसेको हुन्छ ।

यो राजकीय संध्या
जून जस्तै जुनको महिना
यहाँ धेरै राता गुलाफ़हरु फ़ुल्छन ।
यही सांझ कोबाक्लो घुमटाे उघार्दै
म देख्छु जून यहाँ पनि उदाउछ, मेरो देशमा जस्तै
यसका किरणहरु जब धरतीका छातीहरुमा छरिन्छन,
सायद त्यो शीतल स्पर्श
एउटा इजरायलीले उस्तै महशुश गर्छ,
जसरी कुनै प्यालेस्तिनीले गर्छ,
जसरी कुनै सिरियाली इजिप्सियन वा
मैले महशुश गरिरहेछु ।

तर यो जून, यो अकास, यो धरती र निश्छल सागरहरू
अनि प्रकृतिको यो शास्वत समानतालाई
हाम्रो मानव सभ्यताले कुन्नी कतिखेर भत्काइ सकेछ
हामीले थाहै पाएनौं,
यो साझा धरतीका हरिया जंगल ढुंगा र माटोमाथि
कुन्नी कतिखेर,
युद्धका पदचिन्हहरु छापिदै गएछन,
हामीले थाहै पाएनौं ।


यहूदीहरुको यो पवित्र भूमि
जहाँ धर्म र आध्यामिक चेतना को उदय भयो,
इतिहासका बिबिध कालखंड देखि आजपर्यंत
फेरी पनि शक्ति, शासन, र संघर्षकै कथाहरु
र युद्धका श्रंखला हरु यसका पर्याय बनिरहे
मानिसका पापहरुका निमित्त
क्रुशमा टांन्गिएर जीससले प्राणको आहुति दिएझै
आजको धर्म र राजनितिले
सधै सधै मान्छेको रगत मागीरह्यो मागीरह्यो ।

हामीले किन यो सत्यलाई बिर्सियौं?
पैगम्बर,जीसस,बुद्ध वा मोशेहरुले त कहिलै
हत्या, हिंसा र युद्ध लाई प्रेम गरेनन,
यो बिरोधाभास,
के मानवीय चेतनाको गंभीर उपहास होइन?

गाजा र पश्चिमी किनारमा
फेरी हिंसा भड़किएको छ,
फेरी बारुद्का धुवा हरु उडेका छन,
संग संगै जहाँ लाखौं शरणार्थीका शिविरहरु भत्किरहेछन,
हिज़बोल्ला, हमास र कट्टर इस्लामी समूहहरु अनि समस्त आतंकवाद
मध्यपूर्विय शान्ति का स्थायी अवरोध मात्र होइनन,
हाम्रो सभ्यताले, हाम्रो राजनितिले र हाम्रै युगले जन्माएका
घाऊहरु हुन,पीडाहरु हुन्,
यस्ता दुःखदायी अनगिन्ती खाटाहरु, डोबहरु
इतिहास भरी भरी छापिएका छन,पुरिएका छन,फेरी छापिएका छन ।

आफ्नो देशको ??? क्षितिजतिर टोलाउदै
पश्चिमी किनारमा उभिएर
यौटा बृद्ध प्यालेस्तिनी शरणार्थी
मलामिको लामो लश्कर जस्तै
१९४८ का टी दिनहरू सम्झंछ,
जोर्डन, सीरिया, लेबनान र इराकतिर भागेका
लाखौंलाख दौतरीहरु झै
उसको पनि घर फर्कने सपना
डुब्दै गरेको जहाजजस्तै, आफै भित्र मरिसकेको छ ।

विस्थापन,पराधीनता र आभावका
बग्रेलती अनुत्तरित प्रश्न माथि
सायद जीवन भोगाइको यो अन्तिम प्रश्न
उ आफै संग सोधिरहेछ ,

“धरती किन यसरी काडाका पर्खालहरु जस्तै
देशका सिमानाहरुमा विभाजित छ?”
उ प्रत्येक सिमास्तम्भहरुमा योद्धाका चिहानहरु देख्छ ।
उ प्रत्येक सिमास्तम्भहरुमा रगतका छापहरु देख्छ ।।




Israeli Defence Force(IDF) aiming the target.

इजरायल
भू मध्य सागरको पूर्वी किनारमा बारम्बार प्यालेस्टाइन र इजरायल भनिएको यो देशको लामो इतिहासमा ज जसको आधिपत्य रहे पनि जे जति सिमानाहरु कोरिए पनि आज इजरायल मध्यपूर्वको एउटा शक्तिकेंद्रको रुपमा स्थापित भैसकेको छ वास्तविकता यही हो, भलै अरबीहरु यो तथ्यलाइ स्विकार्न तैयार नहोउन ।
पूर्वजको थलो नछाडेका वा छाडेर पनि जेरुसलमको यो पवित्र माटोलाई ह्रदयमा राखेर श्रद्धा गर्ने संसारभरिका ती दृढ यहूदीहरुले एतिहासिक पुस्तकका कथाहरुबाट थपक्क झिकेझैँ जोर्डन नदीदेखि भूमध्यसागर सम्म (दक्षिणमा मिश्र, उत्तरमा लेबनान र पूर्वमा जोर्डन देशहरुले घेरिएको) यो भुमिलाई पुन आफ्नो गृह राष्ट्र बनाउन सफल भएका छन । धेरै पटक इतिहासमा रोमनहरुबाट खेदिएका र अरेबियनहरुबाट बारम्बार धपाइएका ती लाखों यहूदीहरुको हरेक दिनको प्रार्थना, दृढ संकल्प र एकता को परिणाम हो यो - इजरायल । सन १९४८ देखिमात्र पूर्ण अस्तित्वमा आएको कथा जस्तै लाग्ने यो आधुनिक इजरायलको स्थापना संगै यहूदीहरुले हजारों बर्ष अघिको आफ्नो पुर्ख्यौली घर फिर्ता त पाए, तर यो विजयले बर्षोंदेखि यहाँ आवादित भएका लाखों प्यालेस्तिनीहरु बिनाकारण शरणार्थी बन्न पुगे ।

गाजा पशिचिमी किनार र छिमेकी देशहरुमा अस्थाई शिविरहरु स्थापना गरिए र एकाएक रोग भोक गरीबी र असुरक्षा पनि जन्मियो । धेरै अरब राष्ट्रहरु इजरायलको अस्तित्वलाइ आजसम्म पनि स्विकार्न तैयार छैनन । यही अस्वीकारोक्ति मध्यपुर्वीय अशान्तिको प्रमुख कारण बनेको छ ।एकताका डेबिड बेन गुरियन (जसले त्यसबेला यो प्यालेस्ताइन अरबमा यिशुभ नामक सामुदायिक संगठन को नेतृत्वा गरेका थिए) उनैले यो विवादास्पद भूमिका विषयमा भनेका थिए -"यद्यपि प्रश्नको समाधान कसैले नदेखेको होस हामी एउटा स्वतन्त्र राष्ट्रको रूपमा यसलाई आफ्नो बनाउन चाहन्छौं र त्यस्तै अरवीहरु पनि चाहन्छ्न ' यो अनिश्चिततालाइ पंछाउदै उनी पछि स्वतंत्र इजरायलको प्रथम प्रधानमंत्री भए ।विस्थापन र असंतुष्टिका ज्वारभाटा उठेपछि प्यालेस्तिनीहरु बाट आफ्नो सार्वभौमिकता, पहिचान र पुनस्थापनाको खोजीमा अनगिन्ती आत्मघाती आक्रमणहरु भए । १९५६,१९६७,१९७३, र १९८२ का बर्षहरुमा इजरायलले ठुलो संघर्षको सामना गर्नु पर्यो । पछिल्ला बर्षहरु र आज सम्म पनि यसको अस्तित्वको निमित्त कम्ती संकटपूर्ण रहेनन । तथापि हरेक संघर्षमा इजरायलले अत्यन्त बलियो प्रत्याक्रमण गरिरह्यो । यसैबिच अनेकों आतंकवादी र अतिवादी संगठनहरु पनि जन्मिए अनि हरेकले यौटै इतिहासलाइ आफ्नो पक्षमा व्याख्या गरेर द्वंदको सम्पूर्ण कारण र परिणामको दोष विपक्षलाइ दिन थाले ।

इतिहास विजितहरुद्वारा लेखिंछ, जहाँ पराजितहरु सधै बदनाम वा गलत साबित भएका हुन्छन। एउटै घटनाका विषयमा पनि दुई इतिहासकारहरु कहिलै सहमत हुदैनन र अझ अनौठोसंग दुवै आफु सही भएको दावा गर्छन ह्यारी ट्रुम्यानको कथन हो यो ।यसर्थ इतिहास का आँखा हरु बाट मात्र सही पक्ष सही धार निर्क्यौल गर्ने कोशिश गर्नु आफैमा बिरोधाभास पूर्ण हुन जान्छ एउटई बिन्दुका असंख्य कोणहरु हुन्छन विविध पक्ष र धारणाहरुका बिचबाट संतुलित दृष्टिकोणको खोजी नै सार्थक बुझाई को गहनता हो द्वंद र संघर्ष को इतिहास बुझ्न त झनै कठिन हुने भएकोले पूर्वाग्रहरहित विशुद्द दृष्टिकोणको महत्व अझ धेरै हुन्छ ।

यहानेर म तटस्थ रहिन, म स्वीकार गर्छु, मैले अलीकती इजरायलको आँखाबाट हेरेको छू । पुनरागमन र विस्थापन
इजरायल प्यालेस्ताइन संघर्ष कै इतिहास हेर्ने हो भने, दुवैपक्षभित्र जेरुसलम माथीको अगाध आस्था र त्यसको प्राप्तिको अमूर्त अभीप्सा रैह्को पाउछौं । पौराणिककालमा यहूदीहरुको राज्य यहूदा माथी रोमनहरुले आक्रमण गरेर प्यालेस्ताइन नामकरण गरेका थिए । त्यसपछिका दिनहरुमा अरवीहरुले उक्त प्यालेस्ताइनमा आधिपत्य जमाएर हजारौं बर्षसम्म शासन गर्दै आएको हामी पाउछौं । बीसों शताव्दीको पुरार्धतिर सम्म यो क्षेत्रमा अरव इस्लामिक प्रभुत्व रही नै रहेको थियो । इतिहासका पछिल्ला दिनहरुमा मात्र अरवीहरुको भीषण जनघनात्वलाइ वेवास्ता गर्दै यूरोप र एशिया लगायत अमेरिकाका बिभिन्न भूभागमा विस्थापित हुन पुगेका यहूदीहरुले आफ्नो गृहभूमि फर्कने अभियान चलाए।उनीहरुका लागी धार्मिक र एतिहासिक दृष्टिकोणले जेरुसलम अत्यन्तै महत्वपूर्ण थियो । 'उनिहरु कथा पढ़थे । इशा पूर्व एक हजार बर्ष पहिले यहूदी राजा डेबिडले स्थापना गरेको त्यों इजरायललाइ आफ्ना पूर्वजको घर सम्झन्थे र अरवीहरुको हातबाट कुनै पनि मूल्यमा फर्काउन चाहन्थे तर जेरुसलमलाइ अरवीहरु पनि कम्ती श्रद्धा गर्दैनथे । कथन अनुसार मोहम्मद यही स्थानबाट एक रात अल्बुराक नामक घोड़ा चढेर स्वर्ग प्रस्थान गरेका थिए । हजारों बर्ष देखि बसोबास गर्दै आएका अरवीहरु पछि प्यालेस्तिनी भानिएकालाइ यो अतिक्रमण कदापि स्वीकार्य भएन र यी दुई भाईहरु बिच अनन्त दुश्मनीको श्रृंखला शुरुवात भयो ।

आज ४० लाख को हाराहारीमा प्यालेस्तिनी शरणार्थीहरु बिभिन्न क्षेत्रमा छरिएर रहेका छन ती मध्य धेरै जसो पश्चिमी किनार र गाजा क्षेत्रका शिविरहरु लगायत जोर्दान सीरिया र लेबनानमा दयनीय अवस्थामा बसोबास गरि रहेका छन आफ्नै आँगनमा शरणार्थी बनेका उनिहरु घर फरकन चाहन्छं बाजे बराजुले आर्जेको त्यों प्यालेस्ताइन चाहन्छ्न , जसको सीमारेखा आज निकै साघुरो भाई सकेको छ सबैको अनुमान के छ भने यदि उनिहरु पुनस्थापित हुने हो भने अरव प्यालेस्ताइन शक्ति बढन गई यहूदी राष्ट्रको रुपमा स्थापित इजरायलको फेरी तहस नहस हुन सक्छ शरणार्थी फिर्तीको अर्थ इजरायलको अन्त्य हुनु हो भनेर अरव राष्ट्र तथा सबै प्यालेस्ताइनहरु खुल्ला दावी गर्दै आईरहेका छन तर इजरायलको चातुर राजनितिक पृष्ठभूमि र विगतका संघर्षहरुको अनुभवले पनि यसको सम्भ्याव्यता आधारहीन भएको स्पष्ट गरि सकेको छ ।




white phosphorus bombs dropped by IDF over gaza


मध्यपूर्वको आंगनमा अनगिनती सीमारेखाहरु कोरिए , कोरिदै मेटिदै गरेका सीमारेखाहरुले मानवीयताको पवित्र नाता भत्काउदै आपसी वैमनस्य र कलह बधाउदै गयो । सदियौं देखिको यो केरमेट गर्ने परम्पराले यौटा सत्य सधैको लागि मेटी सकेको छ- " सृष्टि सबैको साझा हो र इश्वरले हामी सबैको लागि यो धर्ती बनाएका हुन" ।

किन जिउदै जलाइए ६० लाख यहूदीहरु जातीयताको नाउमा नाजीहरुद्वारा? र त्यसको मूल्य तिरे निर्दोष प्यालेस्तिनीहरुले ?
विश्वको इतिहासले मध्यपूर्वमा ल्याएर छाडेको अत्यन्तै गहिरो पीडादायी प्रश्न हो यो । यो अनुत्तरित प्रश्नको उत्तर जजसले दिने कोशिश गरे, ती सबै अधूरा अपुरा वा एकपक्षीय मात्र रहे। भूटदाभूट्दै मकै आगो भन्दा अलीपर उछिट्टीएझै भागेर बाचेका ती यहूदीका संतानहरु यूरोप अमेरिका वा संसार का अन्य कुनाकाप्चाबाट यसरी खेदिए पछि इतिहास पल्ताउदै बाइबलका पानाहरुमा आफ्नो जातीय उत्पत्तिको थातथलो खोज्दै इस्रायल आउछ्न र भन्छन यो हाम्रै घर हो
Hiding Holocaust evidence
अस्तित्वका लागि संघर्ष
यूरोपको अग्नि काण्डमा जिउदै पिल्सिएका यहूदी जातिले डार्विनको सिदांतको यो शास्वत सत्यलाइ यसरी बोध गरेछ्न की ती नासिएर तुहिएर कहिलै गएनन, बरु ठूला ठूला अरव राज्यहरु (जातीय दुश्मन)को बिचमा संघर्ष गरेरै अस्तित्ववान भए, भैरहेछन । त्यसो त वरीपरीका बड़े बड़े छिमेकीहरुले इजरायलको नक्शा विश्व मानचित्र बाटै हटाउने तानाबाना कति बुने कति ? सम्पूर्ण विश्वले आफुलाई अशांतिको कारक, युद्धप्रेमी वा धुन्दुकारीको कलंक लगाउदा पनि यो मौन छैन, किनकी यसलाई थाहा छ मौनताले यसको मानचित्रका रेखा फेरी मेटिन सक्छ, अनि कहाँ जाने?

आज हजारौं बर्षपछि इजरायल आफ्नो देशको सिमाना स्पष्ट बनाउन चाहन्छ कुनै जातीले बाच्न कै लागि रगतको सिमाना कोर्नै पर्ने यस्तो आत्मघाति सभ्यता किन बनायो होला मान्छेले ?

दशाओं हजार बर्ष अघिदेखि यो क्षेत्र निरंतर आवादित रहदै आएको थियो पुरातत्वविद हरुले जेरिचो मा इ पु ८००० बर्ष अघि को गहुँको नमूना प्राप्त गरेका छन जसले इजरायल संसारकै सबै भन्दा पुरानो कृषिक्षेत्र भएको प्रमाण दिन्छ यासै गरि पुरातात्विक उत्खननहरुबाट यहाँ होमो इरेक्टस तथा नेन्दार्थाल जस्ता आदिम मानवहरुका समेत अवशेषहरु प्राप्त भएका छन । नेन्दरथाल मानव र आधुनिक मानव बिच को त्यो आदिम कालखंडमा मान्छे को कुन देश थियो ? कुन धर्म र कुन जात थियो ? कुन रंग र वर्णमा विभाजित थिए उनीहरु?




आज विभाजन र वर्गीकरण का नाघ्ने नसकिने अगला अगला पर्खाल हरु हामी बिच स्थापित भै सकेका छन हामी आफैले सिर्जना गरेका फरक फरक आस्थाहरु हाम्रै बिनाशका कारण बन्दै गै रहेका छन ।



मनोहर जैतूनका रुखहरुले हरेक बसंतमा गाजा क्षेत्रमा फेरी संभावनाका फुलहरु लिएर आउथे अनि त्यसको पात च्यापेर परेवाहरु मध्यपूर्वको आकाशमा शान्ति र स्वतन्त्रताका गीत गाउथे आज कैयौं रुखहरु संगै सुरक्षाको बहानामा अस्थायी वस्तिहरु समेत उजाड़ भएका छन ।

अभिलाषा
उता प्यालेस्तिनीहरु आफ्नो घरबार खोस्ने इजरायललाइ भूमध्य सागरमा धकेलेरै छाड़ने अठोट लिएर लड़दैछन भन्छन -जब सम्म अंतिम एक प्यालेस्तिनी यो धर्तीमा रहन्छ, उ पनि इजरायल बिरुद्ध लड़ेरै मर्नेछ ।कत्रो मोह सिमाना को?

त्यसो त प्यालेस्तिनी मुक्ति नाउमा अहिले अनेकौं अतिवादी र आतंकवादी संगठनहरु जन्मेका छन, जो आफै एक हुन नसक्नु र प्यालेस्तिनी राजनीतिमै वर्चस्व कायम गर्न लागि पर्नु वा गृहयुद्धमा समेत फस्नुले उनीहरुको अंतिम लक्ष्य इजरायल माथिको प्रभुत्वलाइ असंभवप्राय बनाई सकेको छ । अरवी राष्ट्रहरुको भीतरी इशारा र सहयोगमा चलेका ती विद्रोहहरुले मुक्ति होइन शिविरहरुमा दयनीय जीवन बिताई रहेका शरणार्थीहरुको भविष्य अझ अन्यौल ग्रस्त बनाउने काम मात्र गरेको छैन, अझ धेरै असुरक्षा र गरीबीतीर धकेल्दै लगेको छ।

यद्यपि सड़कभरी सैनिकका ट्यान्कहरु लाम लागुन जतिसुकै घरहरु भत्कियुन र जतिसुकै साथीहरु शहीद होउन, त्यसको कुनै परवाहबिना उनीहरु जेरुसलम हाम्रो हो, भन्दै विद्रोहको आगो फेरी फेरी सल्काई रहेछन । जेरुसलममात्र होइन, श्रृष्टिका सम्पूर्ण अवयवहरु हामी सबैको हो भन्ने निर्धक्कता खै हाम्रो सभ्यताले बुझाउन सकेको?

प्रतिशोधको भावनाले अभिप्रेरित भएर आतंक र रक्तपातको बाटो हिड्दा हिड्दा उनीहरुको त्यो लक्ष्य क्षितिजबाट धेरै परपर गै सकेको छ । त्यसलाई पुर्ख्यौली नासो भन्दै फेरी फर्काउने कोशिश गर्नु इजरायलको शक्तिसंग अनभिज्ञ रहने विवेकहीनता वाहेक अरु केही होइन ।

बत्तिमा जब पुतलीहरु होमिदै जान्छन, त्यसलाई रोक्ने सबै कोशिश व्यर्थ हुन्छ । यो दुस्साहस उज्यालोको माया हो । फेरी इतिहास लेख्ने भ्रमित विश्वासमा आज धेरै प्यालेस्तिनी किशोरहरु इरान र सीरियाका जंगलहरुमा तालीम गरिरहेछ्न - नया नया सिमास्ताम्भ उठाउने अभिलाषा लिएर ...





सम्बंधित अर्को लेख
गाजा र विश्फोटनका धुंवाहरु