जुँगाको एन्टेना ।

- अशोक पार्थिव तामाङ

तिमी आश्वासनको जुँगा
जति बेला पनि
एन्टेना बनाँएर हल्लाउँछौ ।
हल्लाउ,जति हल्लाउँनु यति खेरै हो
जसरी हल्लाए पनि हुन्छ,
सुहाएकै छक्यारे तिमीलाइ, उमेर छ ।

हामीलाइ कुनै बिमती छैन
तिम्रो जुँगा हल्लिएकोमा
र जुँगा हल्लाइमा ।
बरू रहर पो बढेको छ केहि पो हुन्छकि भनि ?
जुँगालाइ हल्लाउँनुको लागी मात्र नहल्लाउ।
त्यस्ले टावर पनि टिपोस् ।

अरू भोक भोकै छट्पटिन्दा
तिमी मात्र खाएर ननिदाउँ ,
तिम्रो त्यो टयुबलाइट्
अँधेरो बस्तिहरुमा पनि बल्नुपर्छ ।
बिज्ञानको पुल्ठो पढेकोहरूले भनेको कुरा सुनेको ।
के के चमत्कार गर्न सकिन्छरे ।
हरेक मान्छेको चित्कार सुन्ने
तिम्रो आवाजको रेडिएसन
भोल्युम् , भाईब्रेसनहरु मिलाउ ।
मान्छे सपनाको अँगालो बेरेर मनभरी
अचेल तिमीलाइनै हेरिरहेछन्
किन , केका लागि थाहा छ ?

भोकाहरुले गाँस खोजिरहेछन्।
नाङाहरुले ब्रस्त्र मागिरहेछन् ।
घरबारहिनले घर खोजिरहेछन् ।
कच्ची सडकले ग्राबेल हुन खोजिरहेछ ।
दियो र टुकिहरु
बिजुली हुने रहर पर्खिरहेछ ।
त्यसैले तिम्रा जुँगाहरु नछाँट ।

बरु अझै बढ्न देउ ,
बढेर यदि एन्टेना नै हुन्छ भने ।
यदि जुँगालाइ तन्काउँने रहरमा मात्र पालेको होभने
जुँगा हुनुको के अर्थ भयो र ?
बरू छुराले ताछिदेउ
कम्तिमा मान्छेले जुँगा त देख्दैनन्
तिम्रो जुँगाले
हजार हजारको सपनाको बिस्कुन किनेको छ तिमी तिरै।

त्यसैले जुँगाको एक एक रेशामा
मान्छेका हरेक अनुभूति टिप्नुपर्छ
सुःख दुःखमा जुँगाको एन्टेना भएर।


तपेश्वरी १ , उदयपुर

( हालः इजरायल )