जूनले नखोस्दै हरेक दिनहरू .....!

- अशोक पार्थिव तामाङ

मेरा हरेक बिहानहरु
संसार नबिउँझिन्दै
बिउँझीन सक्नुँपर्छ
तङग्रिन खोज्नुँपर्छ
नत्र
धमिलो पानीमा
माछा खोजे झै मात्र हुनेछ ।


घडीले टिकटिक धेरै हानिसकेको हुनेछ ,
आकान्क्षाको चराहरु
क्षितिजतिर उडदै हाम्फालिसकेका हुनेछन् ,
म जस्तो अल्छिलाइ छोडेर ।
अनि
मैले बसेको गुँडहरू बाहेक
वास्तविक चराहरू कहिल्यै अब देख्न पाउँने छैन ।
त्यस पछि
समय अघि हिडँछ
म पछि पर्नेछु ।

घामले आकाशको ज्यामिती नाँप्न खोज्दा
मैले मेरो हिडाँइको गति
गणितमा गुणा गरिसक्नुपर्नेछ ।
प्रत्येक घुम्ती र स्टेसनहरुमा
मैले
रेल वा गाडीको रूपमा हर्न बजाउनुपर्नेछ
न उठेकाहरुलाई उठाउँदै उठाउँदै
न जागेकाहरुलाई जगाउँदै जगाउँदै
यो मानव सभ्यता अनि समाजमा ।

प्रत्येक गरहा र कान्लामा
मौसमी बालीहरू पनि लाउँनुछ
असार पन्ध्र भएर
जीन्दगीको मंसिरहरूमा
दाउँनी पनि घुमाउँनुछ ।



जूनले नखोस्दै
मेरा हरेक दिनहरूको
अंगालो भरीको न्यानो
ममता समेट्नँ
चाहन्छु म ।।



तपेश्वरी १ , उदयपुर


हालः इजरायल