एउटा अर्को पृथ्वी !

– सबिना सिन्धु

“यहीँ हुनुपर्छ ……॥”
पृथ्वी भित्र देश
देश भित्र विद्यालय र विद्यालय भित्र कक्षाकोठा ”……॥

दिलसरा सिसाकलम तिखारेर कोर्छे पृथ्वीको चित्र
अक्षांस र देशान्तर नियाल्छे र खोजी गर्छे पुग्न नसकेको गन्तब्य ।
पृथ्वी झैं घुम्छे मानौं ऊ िसंगै पृथ्वी हो ।
जादुको आँखा बोकेर
हेर्छे आकाशको क्यानभासमा पोतिएको
भाग्यको सुर्योदय
आँखा शायद पृथ्वी हो
अथवा गोलो गुच्चा जो घुम्छ फन्फन्ती ।
ठ्याक्कै सलाईका बट्टा जस्तै देखिए बस्तिका घर ।
हिउँमा खोज्छे
चाँदिको पिरामिड जस्तै वर्तमान
अथवा फूलको डालिमा पोखिन नसकेको रङ्ग
दिलसरा मोती जस्तै रङ्ग जडेर
पानीको थोपाको वजन नाप्छे ।
तर पानीको आकार हुँदैन ।
जमेर बरफको ढिक्का बनिदिन सक्छ ।
जस्तो भाँडोमा राख्यो उस्तै आकारमा परिवर्तन भईदिन सक्छ ।
जुन रङ्गमा घोल्यो त्यही रङ्गमा बदलिन सक्छ ।
हामीले चाह्यौं त फेर्न सक्छौं त्यसको रङ्ग ।

“उसो भए पानी- पानी हो पृथ्वी “
- होइन जमिन पनि त छ ।

” अभावको चिसो हो पृथ्वी एउटा अर्को पृथ्वी ! -
होइन समाधानको न्यानो घाम पनि छ ।”

जात धर्म वर्ण वा लिङ्गमा विभाजित हुन्छ ।
अनि उमेर र सम्प्रदायमा ।
विचारमा चोक्टा-चोक्टा हुन्छ पृथ्वी अनि रेखा-रेखामा ।
दिलसरा हेर्छे आफैंले बनाएको चित्र ।
पृथ्वी नियाल्छे र खोजी गर्छे पुग्न नसकेको गन्तब्य ।

ओहो !
गोलो देखिने “मान्छेको टाउको” – पृथ्वी जस्तै ।
मस्तिष्कका नशाहरु अक्षांस वा देशान्तर रेखाहरु जस्तै ।