अग्रज


ग्यालरीको मन्द प्रकाशमा पनि भित्ताका आकृतिहरू विशेष चमकसाथ जमजमाएका थिए । अतिथिहरूका आँखा तिनै आकृतिमा एकोहोरो उक्लिनमा मग्न देखिन्थे । प्रदर्शनीमा सजाइएका क्यानभासका अघिल्तिर एक बूढा कलाकार आफ्नो जिनिसबारे कुनै धर्मप्रचारक झैँ व्याख्यान दिनमा व्यस्त थिए । प्रदर्शनीमा राखिएका फ्रेमजडित थुप्रै चित्रहरूमध्ये केही चित्र तिनका पनि थिए । अनि पछिल्लो क्रममा भुराभुरीसरह मेरा समकालीन साथीसहेलीका कलाकृति पनि ग्यालरीको भित्तामा भाग्यमानी बन्न पाएका थिए । प्रदर्शनीमा म छुटेको भए पनि गुनासोबिना उद्‌घाटन समारोहमा उपस्थित थिएँ ।

प्रदर्शनीको औपचारिक थालनीमा प्रमुख अतिथिसँगै एकसरो अवलोकनको रीत सकिएको थियो । यसपछि सुस्केरा हाल्दै चियाको कप भर्दानभर्दै भद्र बनौटकी परिचित महिला मित्र मलाई नै निशाना ताकेर छेउमा झुल्किइन् ।'रमाइलो छ है साँझपखको जमघट ? सबैतिर क्या रङ्गीन !', कलाकार होस् त यस्तो, कुराकानीको मेसो सुरु गर्दा नै उनी रङ्गको चर्चाबाट भूमिका बनाउँदै छिरेकी थिइन् ।
-'अँ, निर्जीव भित्ताहरूले पनि विशेष ज्यान पाएका छन्, गजब लाग्दै छ', मैले उनको रौसिएको रमाइलोलाई रहर पुग्नेगरी उचालिदिएँ । उनका भरिला गाला झट्ट बिजुलीको एक टलकले मुस्कानमा चोपिएको फेला पारे" ।

सुश्री कुलिनाको स्वर अझ तिखारियो-' तपाईँको चित्र त यो पदर्शनीमा परेनछ नि है, सोऽऽ स्याड !' उनले सान्त्वना प्लस व्यङ्ग्य मिसिएको खोइ कस्तोकस्तो पारामा मेरो कान भरिन् । प्रतिनिधि कलाकर्मी संस्थाले पाको पुस्ता र उदीयमान युवा कलाकारलाई समेटेको विशेष कला प्रदर्शनीमा मेरो सहभागिता नपरेकोमा उनी चुकचुकाएकी थिइन् । मसमेत विस्मित थिएँ, सडकमा झाडू चलाएजस्तो ब्रसले जथाभावी किरमिरे धर्सा कोर्ने मेरा समकालीनहरूमाझ किन मलाई प्रदर्शनी कार्यक्रममा छुटाइयो ?

उनको अनपेक्षित चासोलाई टालटुल पार्नेगरी मैले केही बोल्नुअघि लगत्तै अझै उनका गुलाबी ओठहरू चले-'मेरो चित्रचाहिँ प्रदर्शनीमा समेटिएछ, हुनत तपाईँ मभन्दा अलि कान्छो पनि त हो नि अग्रजका हिसाबले !' अग्रज शब्दको कस्तो भाव बुझेर हो कुन्नि, उमेरका हिसाबमा मभन्दा ४/५ वसन्त खाएकी सुश्री कुलिनाले झ्वाट्ट वाक्य पूरा गरिन् । उनको चश्मासँगै त्यसमा गर्वको एक झोंक्का पनि टल्किरहेको अनुहार हेर्नलायकको थियो । म एकान्तबासमा आङ्खनो उमेरको पखेंटा कुँज्याएर बस्ने बबुरोलाई यो उमेर पनि मैंजस्तो कुँजिएर कान्छो बनेकोमा दङ्ग लाग्यो ।

चर्चा र विज्ञापनको भोकमा समस्त इज्जत र मानवीय तहगतको गम्भीरताको पर्वाह हुन्न । त्यसलाई आफूबाट ल्यान्डफिल्ड साइडमा विर्सजन गर्न नभ्याएको म सुश्री कुलिनासमक्ष ग्यालरीको अर्थहीन क्यानभास बन्न पुगेँ सायद । त्यहाँ उभिँदाउभिँदै म एकाएक बालापनको विगत जिन्दगीमा पुगेँ । वर्षौँ जोतिएर काँध खुइल्याएका हल गोरु म पाँच वर्षको छँदा मभन्दा अवश्य नै पुज्य अग्रज थिए । अनि मैले तोते बोली बोल्दाबखत बुइँगलमा उधुम मच्चाउने पहलमान मुसाहरूलाई आच्छुआच्छु पार्ने ढाडे बिरालो अग्रजका रुपमा मभन्दा उमेरदार र सम्माननीय थियो । यति केलाएर निर्क्योलमा पुग्नासाथै मैले झम्के साँझमा सुश्री कुलिनालाई भनेँ-' ढिला भएन ? अब आ-आफ्ना अग्रज घरतिर प्रस्थान गरौँ ।' सुनेर उनी हेर्‍याहेर्‍यै भइन् । उनको अग्रज मुहारमा अझ अग्रज दुबिधाहरू मडारिए ।

http://www.clickdhaiba.blogspot.com/