देश -रेशम बोहोरा




-रेशम बोहोरा


प्रिय देश,
अनिश्चित अनि अनियमित जिन्दगीको
संघर्षसील यात्रा बीचबाट
स-प्रेम सम्झिरहेछु तिमीलाई
मध्ये पूर्वका उष्ण मरुभुमिहरुमा ...!
तिम्रो सुन्दर मात्री वात्सल्यमा
रोग,भोक,र शोकग्रस्त वाल्यावस्था झेलेको थिए मैले,
देउराली,भन्ज्यांग र ठाँटिहरुमा
रोधी झ्याउरे अनि दोहोरि खेलेको थियं मैले
त्यसैले त
आज सात समुन्द्र पारीबाट
अपरिचित मानिसहरुको अत्यासलाग्दो भिडभित्रबाट
स-प्रेम सम्झिरहेछु तिमीलाई ,
तिम्रो छातीमाथि हवाई आक्रमण हुँदा
धादिंगका निर्दोष बिधार्थी हरु (योगेश तामांग ,पूर्ण बहादुर गुरुङ )
आतंकारीको नाममा मारिंदा,
हटियाको धुर्बे न्यार सुराकीको नाममा,
क्रान्तिकारीहरुको निशाना बन्दा,
तिमीसंगै म पनि त खुब रोएको थिए नि ...!
तिम्रै काखमा.....!
त्यसैले मेरो देश....,!
यस्तै-यस्तै जिबन भोगाइका
तिता-मिठा अनुभूति संगै
बाध्यता र विवशतामा प्रबासियको
तिम्रै भुमि पुत्र म...!
सप्रेम सम्झिरहेछु तिमीलाई म .....
नेपाल र नेपालीको जय होस् ....
[बाँकी यता]

मातृभूमी (कथा)-अस्मिता त्रिपाठी

उकाली ओराली अनि त्यो बिच बाटोमा परेको ठुलो बरपिपलको भञ्ज्याङ्ग चौतारी सम्झन थाल्छु, जब म मेरो किचनको टेवलमा बसेर डाउन टाउनको गगनचुम्बी बिल्डिङ्गहरुको शहर अनि छेवैमा परेको त्यो निलो समुद्रको किनारलाई नियाल्दै गर्दा र मुल्यांकन गर्न थाल्छु, के छ र यहाँ मेरो प्यारो देशको जस्तो प्राकृतिक सुन्दरता! तर पनि कृतिम भएपनि देशलाई आकर्षित बनाएका छन् र सँग-सँगै हरेक कुराहरुमा बिकसित बनाएका छन्। हरेक् कुराहरुको सुबिधा छ। फेरि म मेरै देशमा डुब्न पुग्छु। त्यो हरियाली वन-जंगल, डाडाँ काँडा अनि छङ्छङ्ग गर्दै बग्ने अबिरल छाँगा छहरा आहा! मेरो नेपाल कति रमणिय छ। हुनत अझै पनि मेरो घर खरकै त्यान्द्राले बारेको छ। बर्षा लाग्न थालेपछि हामी स-परिवार एउटा कुनामा बसेर छानाबाट चुहिएको पानीलाई भाडाँ-कुडाँमा समेट्ने चेस्टा गर्थ्यौ। आज पनि म त्यो बालकपनमा भएको तितो सत्यलाई म यो सुविधासम्पन्न देशको एउटा घरको सिमित कोठामा बसेर सम्झन पुग्दा आँखा रसाउन पुग्छन्।

घरमा दु:खको भकारी भएपनि मेरो आदरणीय अभि-भावकले मलाई पढ्नको लागि सधैं प्रोत्साहन दिनु हुन्थ्यो। हुनत मेरो अभिभावकमा छोरालाई पढाएर ठूलो मान्छे बनाउने र मेरो छोरा बीर या साहसी सुपुत्र बनोस्, सबैले प्रशंशा गर्न लायक बनोस् भन्ने ठूलो सपनालाई धेरै टाढा राख्नु भएको थियो। मात्र यति आशा थियो कि बर्षौँ देखि भोगीरहेको गरिबीताको तिक्तता हटोस हामीले जस्तो दु:खकष्टको जीवन छोराले भोग्न नपरोस्। अनि यो आशालाई टुट्न नदिनु मेरो कर्तब्य ठान्थे र राम्रो संग पढ्थे। गाउँको स्कुलमा पढाइ सकेर शहरमा पढ्नको लागि झोला सामल बोकेर हिडें। जेनतेन गरेर क्याम्पसको पढाई पनि सके।पढाई मेरो सानै देखि उच्चस्थानमै थियो ।क्याम्पसमा पनि म प्रथम स्थानमा उत्तिर्ण भएको कारण मलाई क्याम्पसबाट छात्रब्रितिमा बिदेश पढ्न पठाउने निर्णय भयो। यो निर्णय लिएर म बाबा -आमालाई सुनाउन पुगे। सधैं दु:ख झेलेर बसेको मनिसलाई एक्कासि सुख आउदा या खुशीको खबर पाउदा त्यो खुशीमा रमाउन दु:ख सहनु भन्दा पनि सयौं गुणा कठिन पर्दो रहेछ। सायद त्यसैले होला मेरो खुशीको खबर सुनेर बाबा-आमाको गला नै अबरुद्ध हुन पुग्यो र अंगालोमा बाँधेर बररर आँसु झारी "धन्य प्रभु" भन्नु भयो। अन्तत्वगोत्वा म बाबा-आमाको माया र आशिर्बाद लिएर पढ्न बिदेश पुगे। जब गाउँबाट शहर पुग्दा त अलमल्ल पर्न पुगेको व्यक्ति यो ठुलो देशमा म अनौठो अनुभब गर्न पुगे।आफ्नो गाउँ अर्थात् देशको माया कती लाग्छ र कती सम्झना आउछ भन्ने कुरा एकपटक विदेसिने व्यक्त्तिलाई नै थाहा हुन्छ। तैपनी समयानुकुल नयाँ ठाउँ नौलो परिवेशमा आफुलाई परिमार्जित गर्दै बिदेशको युनिभर्सिटिमा पढाइलाई निरन्तरता दिन थाले। बिद्यार्थी भएको कारण आम्दानी गर्नको लागि अनुमती थिएन तैपनि लुकि छिपी कमाएको पैसा घररतिर पनि पठाउन थाले। जसले गर्दा घरमा खुशीका रेखाहरु देखिन थाले।

अब यता पढाइको कोर्स पनि सकियो। परिक्षाफल प्रकाशित भयो। भाग्य भनौं या मेहनतको परिणाम फेरि म प्रथम स्थानमा नै उत्तिर्ण हुन पुगे। अब मलाई यहिको सरकारले काम गर्ने अनुमति दिन लागे अनि सबै बुद्धिजिवी भनाउदाहरुले भन्न लागे तिमी बौद्धिक छौ, तिम्रो सरल इमान्दारीता स्वभावले तिम्रो व्यक्तित्व झल्काउछ। तिमी महान छौ र हाम्रो देशमा बस्न लायक छौ अनि तिमी जस्तो व्यक्ति हामीलाई आवश्यक पनि छ त्यसैले तिमीलाई चाहिने सम्पुर्ण सुविधा दिन तत्पर छौ तिमी आफ्नो परिवार बोलाएर यहि बस्न सक्छौ......... आदि आदि कुराहरु गरेर मलाई रोक्न खोजेकोमा म मनमनै रिसले आक्रोस हुदै थिए र भने म जस्तो व्यक्ति तिमीहरुको सम्पन्नशाली देशमा त खाँचो छ भने मेरो देश जहाँ धेरै काम गर्नै बाँकी छ र त्यहाँ पनि तिमीहरु जस्तै सुविधामा बाँच्न चाहने व्यक्तिहरु छन् भने त्यहाँ झन म जस्तो व्यक्तिको अति खाँचो छ। फेरि मैंले पाएको सफलता मेरो देशको गौरव पनि हो भने म यसलाई कसरी मेटाउन सक्छु र........? अनि म जस्ता हरेक सफल बिद्यार्थीहरु यसरी नै बिदेशमै पलायन हुने हो भने मेरो खरको झुपडी खरमै र त्यो पानी चुहिने छानो यथास्थितिमा नै रहनेछ। त्यसैले म यहाँ रोकिन चाहन्न। यदि म यहाँ बसे भने मेरो देशको माटोले मलाई धिक्कार्नेछ। हुनत म यहाँ बसेर काम गरेर मेरो पौरखको मुल्यले त्यहाँ केहि सहयोग गर्न नसक्ने पनि होइन तर म चाहन्छु कि मेरो देशको माटोलाई म आफैले हलुका स्पर्श गर्न सकुँ अनि देशको लागि केहि गर्न नसके पनि मेरो सानो गाउँमा चन्र्दमासको उज्ज्यालो ल्याउन कोशीश गर्नेछु। मैले जे जति देखें,जाने,भोगेका सीपहरु म मेरो गाउँ मै लगेर प्रयोग गर्नेछु। मेरो ममतामयी दयाको खानि मेरो गाउँले मलाई सुस्त नगर्न प्रत्येक पल चेतावनी दिइरहेको छ।

म यसरी एकोहोरो आफ्नो मातृभूमीप्रति भावुकतामा गहिरिएर बर्बराईरहेको देखेर छक्क पर्दै बिदेशी मेरा बुद्धिजिवी सल्लाहकारहरुले भने तिम्रो देशभक्ती, देशप्रेमी भावनाको हामी प्रशंशा र कदर दुबै गर्नेछौ। तर तिम्रो देशमा दु:खको पर्बत छ, जहाँ अकिंचन गरिबिले श्रेणी चढ्दैछ भने त्यस्तो ठाउँमा के तिमी एक्लैले चाहे जस्तो विकसित बनाउन सक्छौ? सक्दैनौ। तिमी एक्लैलाई कठिन पर्नेछ। बिचमा कुरा काट्दै फेरि भने हो म एक्लैलाई असाध्यै कठिन पर्छ "एक थुकि सुकि सयौ थुकि नदि बग्छ " भने झैं मैले पनि सुरुवात मात्र गर्ने हो। त्यहाँ पनि थुप्रै पढेलेखेका बुद्धिजिबीहरु छन् उनिहरुमा पनि देशप्रेमी अथवा देशमा केहि गरौ भन्ने भावना छ। एउटा कमिलाले त तान्न नसकेको वस्तुलाई अरु कमिलाले साथ दिन्छन् भने हामी त बुद्धिजिवी अनि श्रेष्ठ प्राणी हौ, एकजनाले थालेको काममा हातमा हात मिलाउन अवश्यै अगाडि बढ्नेछन्। त्यसैले म मेरो गाउँको अव्यक्ततालाई केहि मात्रामा भएपनि जगमगाउन सफल हुनेछु। म मेरो गाउँमा बर्षौ देखि नबलेको दाउरालाई रगडेर आगो बाल्न सम्म भएपनि सफल बन्नेछु र मलाई त्यसैमा धेरै शान्ती र खुशी मिल्नेछ। म तिमीहरुको सुबिधासम्पन्न देशलाई हेर्दै मेरो गरिबिताले घचघच्याएको देशलाई प्रत्येक पल सम्झदै मनभरी दु:ख बोक्न चाहन्न त्यसैले म विलम्व नगरी चाँडै जानेछु। मेरो त्यो देश मेरो त्यो गाउँ कति रमाउनेछ मेरो आगमनमा स्वागतार्थको लागि मेरो गाउँ मुस्कुराउनेछ। मलाई त्यसैमा वृहद आनन्द मिल्नेछ।


अस्मिता त्रिपाठी
क्यानडा
[बाँकी यता]

गजल-प्रकाश सापकोटा





रहर लाग्दो बैंशालु त्यो मात लाग्न थाल्यो,
विगतका क्षण सबै सपना भइ जाग्न थाल्यो ।

हिजो भन्दा आज निकै फरक देख्दै छु म,
हेर्दा हेर्दै तिम्रो कार्य सीमा नाध्न थाल्यो ।

अतितका क्षण सम्झी लाग्छ काउकुती,
सपनीमा चिहाउँदा निद्रा भाग्न थाल्यो ।

हिजो आज भोक लाग्दा माया पाइने हैन कहिल्यै,
सबै थोक भएनि "प्रकाश" केही माग्न थाल्यो ।

-प्रकाश सापकोटा
धादिंङ बेंशी
[बाँकी यता]

बिन्ती मलाई नरोज-बिकास घायल



झरेको फुल हुँ म नटिप्नु मलाई
सुग्न्धित बास्ना हराइसकेछु
औशीको रात हु म नपछ्याउ मलाई
उज्यालोमा रम्न भुलिसकेछु
लक्ष्यहिन यात्री हु म नरोज मलाई
जिन्दगीको दोबाटोमा अल्झिसकेछु
शिशिरेको तुसारो हु म बिन्ती नरोज मलाई
चोट र पिडा सँग रम्न बाध्य छु
सल्लाको रुख हु म भुलेर पनि नटोक्नु मलाई
बर पिपलको कल्पना अरु कसैले खोसिसकेको छ
मायाको खानी हु म तर नगर माया मलाई
त्यही मायाले मेरो मुटु छिया छिया परेको छ



बिकास घायल
[बाँकी यता]

धन्य मेरो छोरा -अनिता लोहनी




सभ्य, सौम्य,भद्र, नम्र छोरो उ मेरो
शालिन,शितल सन्त आदर्श छ उस्को
भव्य र आकर्षक व्यक्तित्व छ उस्को !

मन, हृदय आत्मा पुलकित हुन्छ
उसकै आमा हुनुको
धन्य भगवान कति राम्रो संयोग परेछ
हाम्रो मिलनको !

जीवनको उत्तराद्धमा आज ,नयाँ उल्झन उम्रिएको छ ।
कल्पना नै गर्न नसकिने, नमीठो असैय पीडा छ ।
मेरो हातमा, तिनै छोराले दिएको ,विषको प्याला छ ।


मेरो प्रशवले मलाई धिक्कारेको छ,
मेरो मातृत्वले ,मलाई नै चिथारेको छ ,
कोपारेको छ, आहात तुल्याएको छ ।

उसको योजना, कार्य कौशलता, दृढता महान् छन् ।
त्यसैले उसका अघि पछि लाखौ लावालस्कर छन्
आज अनायासै ,ती सव जनार्दनका हातमा
मलाई दिए जस्तै आफ्नै मातृत्वको अन्त्य गर्न वीषको प्याला थमाएको ।

त्यसको योजनाको उद्घाटन उसले मबाट नै शुरु गर्ने भएको छ ।
त्यसको योजनाको उद्घाटन उसले मबाट नै शुरु गर्ने भएको छ ।

धन्य मेरो छोरा
महान छोरा !

-अनिता लोहनी
[बाँकी यता]

बाङ्गै भयो पुच्छर-हरि खनाल




काला रात बिते नि पूर्व नभमा झुल्केन घामै किन ?
आस्थाको बिजमा निराश अबता फुल्दै छ दैनन्दिन ।।
हाम्रो नै घरमा सदा समय यो बन्दैछ है दुच्छर ।
ढुङ्ग्रोमा सकिएन सोझिन कसै बाङ्गै भयो पुच्छर ।।

आँखामा घुमिदिन्छ आर्तजनको बेथा सिनेमा सरी ।
हावामा सुनिँदैछ वीरमनको चीत्कार पीडा भरि ।।
रातै छिन् सरिता छ शैल उसतै घाऊ सुकेको छ र ?
पानी भो सपना निरर्थक भयो बाङ्गै भयो पुच्छर ।।

आफ्नै ताल र फालमा उडिरह्यो नेपालमा बादल ।
नौलो ताल भएन घन्किन गयो बेढङ्गको मादल ।।
काला काग उडे सदा शिरमहाँ लाए यहीँ चक्कर ।
लाखौं यत्न गरे नि अन्तिम उही बाङ्गै भयो पुच्छर ।।

आगो दन्दन सल्किदैछ अहिले सल्काउने जिल्ल छ ।
बिर्को ठोक्दछ चेतना किन यहाँ आस्था झनै टिल्ल छ ।।
पर्दा खुल्न गयो सबै नजरमा प्रष्टे कहाँ लुक्छ र ?
हाम्रा फूल चिमोटिए अझ शखे बाङ्गै भयो पुच्छर ।।

हरि खनाल
२०६४÷०८÷०१
[बाँकी यता]

गजल -राजकुमार श्रेष्ठ “उदास”



मैले प्रेमको प्रस्ताव राखेको बेला मानिनौ त के गर्ने
खै किन हो उतिबेला मलाई मान्छे गनिनौ त के गर्ने ।

धेरै माया गर्छु भनि तिमीलाई कयौंपल्ट भन्दा पनि
गम्भीर भइ सुन्नु पर्ने त्यस्तो बात सुनिनौ त के गर्ने ।

चिन्नेलाई यो श्रीखण्ड नचिन्नेलाई खुर्पाको बिड भन्ने
उखान सरी तिम्ले मेरो चोखो माया चिनिनौ त के गर्ने ।

-राजकुमार श्रेष्ठ “उदास”
निलकण्ठ-१, पौवा
धादिङ
[बाँकी यता]

ती सुस्केराहरु बीच -राजेन्द्र महर्जन




ती सुस्केराहरु
अनि,
ती आँशुका झरनाहरु बीच हाँसेर,
म तिम्रो आत्मीयतालाई खिल्ली उडाउन चाहन्न,
मधुर मुस्कान उड्ने तिम्रा ओंठहरुबाट
सुस्केराका लर्काहरु उडेको पटक्कै सुहाउँदैन,
गाजलको सुन्दर घेराभित्र,
टल्किने तिम्रा आँखाहरुमा पनि
आँसुका छेस्काहरु बगेको
कहाँ पो सुहाएको छ र ?

हाम्रो आत्मीयता आँशु र सुस्केरामा होइन
प्रत्येक पल मुस्कुराउने ओंठ
अनि निर्दोष आँखामा पो जीवित हुन्छ ।

त्यसैले प्रिय,
मेरो सामु
सुस्केरा होइन सुन्दर मुस्कान छरिदिए हुन्थ्यो
आँसु होइन आत्मीय नजरले हेरिदिए हुन्थ्यो,
आत्मीय नजरमा अझै सुन्दर बगैंचा देख्छु म,
मधुर मुस्कानमा शान्त संसार देख्छु म,
तिमीले साथ दिए संसार पाउँछु म,
दुःखमा पनि सुख पाउँछु म
ठेसै लागे पनि ढल्न लाग्दा
टेवा दिए पुग्छ मलाई,
निराश मेरो मनमा अरु निराशा नथपिदिए पुग्छ ।


-राजेन्द्र महर्जन
[बाँकी यता]

गजल -बिमन राई



दिलैदेखि दिलको कुरा सुन्नेलाई सलाम छ
एउटै माला अनेक फूलको उन्नेलाई सलाम छ ।

पहिचानको फरक रंग फरक संस्कार एक बनाई
रंगहरुको समिश्रण चित्र बुन्नुलाई सलाम छ ।

मेचीकाली दुई हात सुस्तालाई पाउ ठानी
उच्च शीर सगरमाथा चुन्नेलाई सलाम छ ।

मट्टी कसम नेपाली मन स्वाभिमानमा फूल्छ भन्ने
दृढ सपना दृढ विचार तुन्नेलाई सलाम छ ।

-बिमन राई
खोटाङ
हाल धादिङ बेंशी
[बाँकी यता]

म अक्षर खोज्दै छु -शिव शर्मा “ठक्कर”




म बसें लेख्नद
कम्मर कसें लेख्न‍
एकान्त रोजेर
ढोका लाएर बसें
झ्याल थुनेर
अध्यारओ भयो
बत्ति बालें
अहँ
मन उज्यालो भएन
मष्तिष्क मन्द
शब्द फुटेन
शब्द मात्र हैन
अक्षर पनि भेटिएन

न तिथि मिलेन
न मिति परेन
साइत वा लगन के पो जुरेन
विहानै उठेर
मुख धोएर बसें
खाना खाएर चुठेर बसें
दिउँसोको फुर्सद कुरेर बसें
गोधुँली साँझ नियालेर बसें
हिमाल, पहाड
छाँगा, झरना
खोला, नदि, किनारा
प्राकितिक छटा डुलेर सारा
रनबन घुम्दै जहाँ बसे पनि
विगत सम्झेर
वर्तमान हेरें, भविष्य कल्पिएँ
सुख र दु:ख घाम र छायाँ
जे जती सम्झिएँ
सम्झि साध्य भएन
अहँ लेख्ने जाँगरै रहेन
अक्षर कतै भेटिएन

मैले मलाई हेरें
मैले तँलाईं हेरें
मैले उस्लाई हेरें
रोजाई र भोगाई हेरें
विचार गरें
वाद बुझें
सिद्धान्त खोजें
सोच्दा सोच्दै
लेख्न खोज्दा खोज्दै
टोल, गाउँ, शहर, सम्झिएँ
अनि देश सम्झिएँ
बर्ष सम्झें
महिना सम्झें
गते सम्झें
आशा र भरोशा सम्झें
कर्तव्य र जिम्मेबारी बोध
न त ममा देखें
न त अरु कसैमा
अझै
म फेरि विश्वाश खोज्दैछु
संकटको समयमा
एकताको मार्गचित्र कोर्ने
दिगो शान्तिको लागि
सहमतिको संकार लेख्नेर
म सुनौलो अक्षर खोज्दै छु ।

-शिव शर्मा “ठक्कर”
निलकण्ठ-१, धादिङ बेंशी
[बाँकी यता]

कस्ती होलीन् मेरी आमा ? -भानुभक्त भट्ट



आमावस्याको चकमन्न रातमा खोज्दै हिड्छु मेरी आमालाई
तर कतै भेट्दिन म
आकाश तिर हेर्छु
लाखौंलाख ताराहरु टिलपिल टिलपिल चम्किरहेका देख्छु
तिनै आकाशका लाखौं ताराहरु मध्ये
एउटा तरा चम्किदैं हिड्छ
लाग्छ तिनी नै मेरी आमा हुन्
अनि त्यो चम्किलो ज्योतीले मलाई भन्छ

छोरा यो जन्मभूमीका निम्ति केही गर
यो माटोको निम्ति केही गर
यो प्राणभूमीलाई माया गर

ममताकी खानी भन्छन्
आमा ज्ञानकी पनी धनी होला
तर मेरो लागि त कल्पना मात्रै
किनकि मैले त आमाको माया
चालिस दिन मात्रै पाएँ
अनि आमा भईछिन् स्वर्गवास

आमा तिमी कहाँ छौ
आमा तिमी कस्ती छ्यौ
तराईका खुल्ला फाँटहरुमा
अनि पहाडका गराहरुमा
बोलाउँछु मेरी आमालाई
कता हो कता
एउटा मधुर बोली सुन्छु
अनि झस्किन्छु-छोरा, तिमीले केही गर्नु छ

मर्नुभन्दा पहिले धेरै गर्नु छ
गरीब, असहाय र अनाथको निम्ति केही गर्नु छ
हरियो घना जंगल भरी
मेरी आमालाई खोज्दै हिड्छु
तर
कहीँ भेट्दिन

अगाडि हिड्दै जाँदा थकाई लाग्छ
एउटा शीतल छहारी मुनी बस्छु
चराचुरुङ्गीहरुको चिरविर चिरविर आवाज सुन्छु
लाग्छ मेरी आमा यही कतै छिन्
तर
कहिँ देख्दिन
अनि मलाई
त्यही शीतल छहारीमुनी सुत्न मन लाग्छ
फेरि एउटा
मधुर बोली सुन्छु
छोरा, गन्तव्यलाई नविर्स सितल छहारी भेटिंदैमा
अगाडि बढ कर्तव्य पथमा
जन्मभूमिको रक्षा गर
दीन दु:खीहरुलाई सक्दो सहयोग गर
यो धर्तीलाई माया गर

आमा.........
बोलाउँछु
तर
कोही बोल्दैन
झल्याँस्स ब्युझिन्छु त आफुलाई पाउँछु आफ्नै कोठाभित्र
आहा
कति सुन्दर सपना !
आखिर कस्ती होलीन् ?
मेरी आमा ।


-भानुभक्त भट्ट
महेन्द्र नगर
हाल नि.उ.मा.वि. धादिङ बेंशी
[बाँकी यता]

नारी -सन्ध्या दुवाडी




नारी नै हो यो संसारको सधैं रक्षा गर्ने
नारी नै हो काल र मरणसंग लड्ने
सौन्दर्यको धनी भन्छन् यो चमत्कारी नारीलाई
शिक्षा दिन्छन् नारीहरु जगत अनि सारालाई

नारीहरु जहिले पनि देशकै लागी लड्दछन्
देशकै लागि लडि नारी सधैं अघि बढ्दछन्
नारीहरु राख्दछन् हिम्मत वैरीसंग लड्ने
वैरीसंग लडि-लडि सधैं अघि बढ्ने

संसारको बत्ती बाल्ने यो नारीको शक्ति
अब सबैले गर्नुपर्छ यै नारीको भक्ती
यो नारीले आँट लिए दुष्ट दानव भाग्दछ
यो नारीले कलम उठाए सारा संसार जाग्दछ ।

-सन्ध्या दुवाडी
निलकण्ठ-५, धादिङ बेंशी
[बाँकी यता]

खै त यहाँ आ’को -प्रवेश उप्रेती



गणतन्त्र आयो भन्छन्
खै कहाँ आ’को ?
जनताले सुख पाउँछन् भन्थे
खै कहाँ पा’को ?

एक वर्ष पुग्यो नेता
परिवर्तन भा’को
नेपाली जनताको मनमा
खै त खुशी छा’को

देख्दैन नेता गरिबले
च्यातिएको लुगा ला’को
जनताले बगरमा बसी
साग सिस्नु खा’को

आतंककारी हत्या हिंसा
आज बढ्दै गा’को
गणतन्त्र आयो भन्छन्
खै त यहाँ आ’को ?

-प्रवेश उप्रेती
कक्षा-९, एडभान्स एकेडेमी
[बाँकी यता]

जन्मभूमी -ओजस्वी दुवाडी




मेरो गाउँ म जन्मेको ठाउँ मलाई प्यारो लाग्छ
म नेपालमा जन्मेको सम्झिदा मलाई खुशी लाग्छ

स्वर्ग जस्तो मेरो गाउँबाट हेर्दाखेरी
हिमाल टलक्क टल्किन्छ
त्यो ढाका टोपी लाउँदा मलाई
नेपाली पन झल्किन्छ

म नेपालको इज्जत गर्छु
कहिले पनि गर्दिन बेइजत
म नेपालको शीर उचाल्छु
कहिले पनि झुक्न दिन्न
यो मेरो नेपाललाई

त्यसैले त मेरो जन्मभूमी
मलाई प्यारो लाग्छ
मेरो जन्मभूमी
सम्झना साथ
दु:ख टाढा भाग्छ ।

-ओजस्वी दुवाडी
कक्षा-४
[बाँकी यता]

भानुभक्त -सविना रेग्मी




नेपाली कवि भित्रका चहकिला साहित्यमा लम्कियौ ।
नेपाली कवि मध्येका गुरु न हौ, साहित्यमा चम्कियौ ॥
बाजे व्यस्त थिए नि ज्ञान दिनमा ती भानुभक्तै भनि।
उस्तै व्यस्त भएर ज्ञान लिनमा यी भानुभक्तै पनि ॥

भाषाको गरुँ एकता भनि तिमी लागेर सफल गर्यौ ।
नेपाली जन सामु सागर सरी फैलेर कृति छर्यौौ ॥
लेख्ने पढ्ने नजान्नेले पनि अहो! भाषा टिपे ओठमा
सर्वत्र फिँजियो सबैतिर अहो ! घन्कन्छ यो गोठमा ॥

घाँसीको उपदेशबाट रचियो ती काव्य रामायण ।
बाला वृद्ध सबै यी ओठहरुमा घन्कन्छ रामायण ॥
नेपाली जन ओठ भिर पहरा थर्किन्छ रामायण ।
पूजापाठ सबै सुकार्यहरुमा चर्किन्छ रामायण ॥

-सविना रेग्मी
नलाङ-६, धादिंङ
[बाँकी यता]

हात्तीछाप चप्पल पड्काउनेहरुलाई -ऋषीकेश दाहाल



हात्तीछाप चप्पल पड्काउनेहरुलाई
अकस्मात पजेरोमा गुडेको देखें
गल्ली गल्लीमा भौतारिदैं हिड्नेहरुलाई
टेबल ठटाउँदै निदाइरहेको देखें ।

झुपडीमा बसी कोदालो खन्नेहरुलाई
नौतले भवनमा भ्रष्ट्रचार गरिरहेको देखें
स्रष्टाहरुको सृजना च्यात्नेहरुलाई
विभुषित गरिंदै गरेको देखें

संविधान बनाउनेहरुलाई
पाँचतारे होटल र रिसोर्टमा भेटें
बम पड्काउने र हुलदङ्गा मच्चाउनेहरुलाई
मन्त्री ज्यू भन्दै सलाम ठोकें ।

हाम्रो देशका कानुनलाई
पुँजीवालको मुठ्ठीभित्र देखें
रिबन बेच्दै गरेकाहरुलाई
रिबन काट्दै गरेको देखें ।

ऋषीकेश दाहाल
निलकण्ठ-५, धादिङ
[बाँकी यता]

नामै छ तिम्रो



नामै छ तिम्रो उमङ्ग दिने गुलाफकी फूल हौ कि ?
मोती जस्तै चमक भएकी मन्दिरकी द्वार हौ कि ?
तराई, पहाड, उपत्यका, हिमाल तिमी नै राज हौ कि?
प्रभा जस्तै किरण भएकी अप्सराकी रुप हौ कि ?

चुम्बक जस्तै आकर्षण गर्ने अप्सरा रुपी हौ कि ?
मोहनीले तान्ने मधुर मुस्कान जादुगर तिमी हौ कि ?
सुर्य चम्क्यो हृदयमा आहा ! बैंशको बल्दै लाली !
चुँडुँ क्यारे मनको फक्रनै लागेको पुष्प बाली !

देह भित्र पनि मेरो बसन्त लहराउँछ ।
प्रीतिको कविता भित्र पनि कल्पना चल्मलाउँछ
दु:ख सुख सब मनको आड दिने सिरानी
प्रीतिको प्रथम मत पाईला टेक्दैछु बिहानी

लोभी दृश्य कोमल दिलमा पुष्प बन्दै रमायो
दुष्ट मेरो हृदयमा अझै मुल रसायो
आयो कविता दिल भरि मेरो स्नेहको खेल खेल्दै
भए कम्पन जस्तै हलचल गरि मुटुभित्र सुसेल्दै

नयनमा नै रमाईरहुँ जिन्दगीभर जस्तो लाग्छ
सोच्दै आनन्द कविता तिमी हृदयको बोल लाग्छ
सुर्य चम्यो हृदयमा आहा बैंशको बल्दै लाली
चुडुँ क्यारे मनको फक्रनै लागेको पुष्प बाली

परिचय
इतिहास ओतिएको पहाडको गाउँ मेरो
रगतले पोतिएको अमृता र स्मृति नाउँ मेरो
ढोला धादिङ ३ पुर्षु सिर्जनशील घर मेरो
वंशजको अध्ययन गर्दा अर्याल हो थर मेरो ।
[बाँकी यता]

भानु तिमी



वोक्रे टोपीसंग भानु रम्भा गाउँमा जन्मी
साहित्यलाई चिनाएछौ ठूलो भइ हुर्की
आफ्नो भाषा आफ्नो भेष सधैं प्यारो ठान्यौ
आफ्नो देशलाई सधैं आमासरी मान्यौ

कति ज्ञानशील छन् वधुशिक्षा भक्तमाला पनि
साहित्यको भण्डार अभिवृद्दिमा टेवा पुग्यो अनि
मेला पात पधेरी सबमा सिलोक घन्काउँदै
थुप्रै काव्य लेख्यौ तिमीले ज्ञानको ज्योती फैलाउँदै

रामायणका हरफ लेख्यौ लगाएर मन
आफ्नो भाषा आफ्नो भेष ठान्यौ तिम्ले धन
फेरिपनि आऊ भानु मिठो सिलोक घन्काउन
थुप्रै काव्य लेखि अनि ज्ञानको ज्योती दन्काउन

साहित्यको माध्यमबाट ल्याउन देशमा क्रान्ति
हिमाल देखि तराईसम्म हेर्नछाको शान्ति
फेरि आऊ भानु तिमी यो नेपाल देशमा
ढाका टोपी दौरासुरुवाल उहि पुरानो भेषमा

वीरेन्द्र सिलवाल
नलाङ-८, धादिङ
कक्षा-९- एडभान्स एकेडेमी
[बाँकी यता]